वाईसीएलमाथि प्रहरीले किन बढायो निगरानी ? यस्तो छ कारण....

काठमाडौं, २२ माघ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको भातृसंगठन ‘योङ कम्युनिष्ट लिग’ (वाईसीएल) माथि प्रहरीले निगरानी बढाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)ले वाईसीएल माथि निगरानी बढाएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार वाईसीएल, क्रान्तिकारी युवा लिगलगायत विभिन्न युवा संगठनको एकता भेलालाई सम्बोधन गर्दै परिवर्तनविरोधी शक्तिविरुद्ध जाइलाग्न निर्देशन दिएपछि प्रहरीले वाईसीएल माथि निगरानी बनाएको हो ।

परिवर्तन विरोधीको प्रतिकार गर्न प्रधानमन्त्री दाहालले आफ्ना कार्यकर्तालाई सार्वजनिक रूपमै निर्देशन दिएसँगै दुवै सुरक्षा निकायले दलका कार्यकर्ताबीच हुन सक्ने सम्भावित झडप र भीडन्त रोक्न वाईसीएलका गतिविधिमाथि निगरानी बढाएको बताइएको छ ।

प्रधानमन्त्री दाहालको अभिव्यक्तिपछि प्रहरी र सशस्त्रले मातहतका युनिटलाई मौखिक परिपत्र गर्दै राजनीतिक गतिविधिको आवरणमा हुनसक्ने हिंसाजन्य गतिविधिमाथि निगरानी बढाउन निर्देशन दिएको स्रोतको दावी छ ।

‘प्रधानमन्त्री स्वयंले आफ्ना कार्यकर्तालाई फरक विचार राख्नेविरुद्ध प्रतिकारमा उत्रन निर्देशन दिनु पदीय हिसाबले अशोभनीय र उत्तेजनामा आधारित छ,’  प्रहरीका एक एआईजीले भने, ‘यसबाट फरक मत राख्ने दलका कार्यकर्ताबीच भीडन्त र प्रतिशोध उत्पन्न हुनसक्ने भएर हामीले बेलैमा आवश्यक सावधानी अपनाउन थालेका हौं ।’

प्रहरीका पूर्व एआईजी नवराज ढकालले पनि प्रधानमन्त्रीको भनाइ आवेग र उत्तेजनायुक्त भन्दै यसले शान्तिसुरक्षामा खलल पुग्नसक्ने बताए ।उनले प्रधानमन्त्रीले भिन्न विचार राख्नेमाथि प्रतिकारमा उत्रन सार्वजनिक अपिल गर्नु शान्तिसुरक्षा विरुद्धको अभिव्यक्ति भएको बताए ।

प्रहरीका अर्का पूर्व एआईजी गणेशराज राईले पनि प्रधानमन्त्री दाहालको अभिव्यक्ति आपत्तिजनक र पदीय मर्यादा विपरीत भएको प्रतिक्रिया दिए ।उनले प्रधानमन्त्रीले जनता भिडाउने अभिव्यक्ति दिनु आफैँमा आपत्तिजनक र शान्तिसुरक्षा विरुद्ध भएको बताए ।

यता माओवादी केन्द्रका हेडक्वाटर सदस्यतथा वाईसीएल इन्चार्ज मणि थापाले परिवर्तन उल्टाउन ‘योजनाबद्ध षड्यन्त्र’ भइरहेकाले प्रधानमन्त्रीले त्यसलाई रोक्न युवालाई आह्वान गरेको दाबी गरे ।

‘एमाले र पूर्वराजा परिवर्तन उल्टाउने खेलमा सक्रिय भएका छन्,’ थापाले भने, ‘यस्तो अवस्थामा युवाहरुलाई प्रधानमन्त्रीले सचेत आह्वान गर्नुभएको हो, यसलाई कसैले पनि गलत रूपमा बुझ्न जरुरी छैन ।’

प्रधानमन्त्रीको अभिव्यक्ति परिआए परिवर्तन उल्टाउन खोज्ने शक्तिको प्रतिरोध गर्नुपर्ने पनि भएको उनले स्पष्ट पारे । उनले जनआन्दोलन, जनयुद्ध र मधेश आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्न परिआए परिवर्तन विरोधीको प्रतिकार र प्रतिरोध गर्ने पनि प्रधानमन्त्रीको अभिव्यक्तिको आशय भएको बताए ।

0 comments

Write Down Your Responses