पाइलटलाई युवतीको माया जालमा फसाएर नक्कली प्रहरीको ठगी धन्दा....
काठमाडौँ, २२ माघ - भारतको एक प्रतिष्ठित एयरलाइन्समा कार्यरत पाइलट अनिल शर्माको जिन्दगी नैराश्यताले भरिएको थियो।
सधैँ निराश देखेपछि उनलाई एक दिन को-पाइलटले त्यसको कारण सोधे। अफिस, घर अनि फेरि अफिसको पट्यारलाग्दो दैनिकी नै आफ्नो निराशाको कारण भएको उनले बताए। जीवनमा खुसी भर्नका लागि युवतीहरूसँग च्याट गर्न र घुम्न ती को-पाइलटले शर्मालाई सुझाए।
दुई बच्चाको बाबुसमेत रहेका शर्मालाई सुरुमा त्यो सुझाब मन परेन। तर, पछि ट्राई गरौँ भन्ने लाग्यो। च्याटसाइड एडल्टफाइन्डर डटकममार्फत उनको सिया नाम गरेकी युवतीसँग अनलाइनमा च्याट हुन थाल्यो। पहिलो दिनदेखि नै खुलेर कुरा गर्ने सिया बोल्ड युवती थिइन्। उनीसँगको च्याटले अनिलको जीवनमा नैराश्यता हट्दै गयो। केही दिनमै सियासँग फोनमै कुराकानी हुन थाल्यो।
सियाका मीठा कुराले च्याट सुरु भएको दुई हप्तामै उनीहरूबीच भेटघाटको वातावरण बन्यो। अनिलले फिल्म हेर्न जाने प्रस्ताव राखे। युवतीले आफ्नै फ्ल्याटमा बसेर मीठा कुरा गर्ने प्रस्ताव राखिन्। युवतीलाई भेट्न अनिल दिल्लीको एमटुके सिनेमाघरअगाडि गत २४ अक्टोबरमा कार लिएर पुगे। सिया उनको प्रतीक्षामा थिइन्। च्याटमा जस्तै युवती बोल्ड र कामुक थिइन्। अनिल रेस्टुरेन्टमा बसेर खाजा खान चाहन्थे। तर, युवतीले रेस्टुरेन्टबाट प्याक गरी आफ्नै फ्ल्याटमा जाने प्रस्ताव राखिन्।
फ्ल्याटमा जाने क्रममा आफ्नो साथी सलोनीको डेरामा जाने प्रस्ताव ती युवतीबाट आयो। अनिल झस्किए। सियाले फकाउँदै भनिन्, अनिल तिमी झन् पुरस्कार पाउँदैछौ, एउटा किन्दा अर्को सित्तैमा।
दुईजना युवतीसँग रमाउने सपनासाथ उनी राजी भए। सियालाई समेत कारमा राखेर उनीहरू सलोनीको फ्ल्याटमा पुगे। सियाले ताल्चा खोलेर अनिललाई आफ्नो फ्ल्याटमा स्वागत गरिन्। बरन्डामा कपडा रहेको भन्दै उनी तत्कालै त्यहाँबाट निस्किइन्। सलोनी उनीसँग जिस्किन थालिन्। आफूसँग सम्बन्ध राख्न उस्काइन्। तर, अनिल सुरुमा सियासँग सम्बन्ध राख्न चाहन्थे। सलोनीले कर करेपछि उनले आफूलाई रोक्न सकेनन्। सलोनीले नै उनको कपडा खोलिदिइन्।
सम्बन्ध राखिसकेपछि उनी आराम गरिरहेका थिए। तीनजना युवा ढोकामा देखिए। ‘धेरै पहिलेदेखि यहाँ वेश्यावृत्ति हुन्छ भन्ने सूचना पाएका थियौँ, आज प्रमाण भेट्यौँ,’ तीनमध्ये आफू सइ भएको बताउने युवकले भने । एक हवल्दार र सिपाही पनि उनीसँगै थिए। उनीहरूले अनिल र सलोनी दुवैलाई पक्राउ गरेर गाडीमा राखे।
पट्यारलाग्दो जिन्दगीमा खुसी भर्न जाँदा शर्मा झन् ठूलो तनावमा परे । हिरासतमा राख्नुअघि अस्पतालमा स्वास्थ्य जाँच गर्नुपर्ने भन्दै उनीहरू अस्पतालतर्फ गए । अस्पतालमा सुरुमा सलोनीको स्वास्थ्य जाँचका लागि भनेर लिएर गए। अनिललाई गाडीमै राखे । केही समयपछि अब प्रहरी चौकी जाने भन्दै अनिललाई लिएर गए। उनीहरू सादा पोसाकमा थिए । युवती नलिई हवल्दार र सिपाही अस्पतालबाट बाहिरिए । युवती नलिई आएको सोध्दा जुन उत्तर आयो त्यसले शर्मा छाँगाबाट खसेजस्तो भए । ‘युवतीले तिमीविरुद्ध बलात्कार गरेको भन्दै जाहेरी दिन लागेकी छे, अब त सात वर्षसम्म जेलमा कोचिनुपर्छ, मिडियामा यो सबै जान्छ।’
घटनालाई गोप्य राखी मुद्दा नचलाउन आग्रह गर्दै उनी रुन थाले । त्यसका लागि केही पैसा खर्च गर्ने उनले बताए । त्यसका लागि प्रहरीले २० लाख भारु मागे । त्यत्रो पैसा नभएको उनले बताए । बार्गेनिङको क्रममा १० लाख भारुमा कुरा मिल्यो । भोलिपल्ट उनले बैंकबाट पैसा निकालेर दिए । त्यसपछि ठूलो महासंकटबाट उन्मुक्ति पाएको ठाने । चार महिनापछि ९ मार्च २०१६ मा फेरि उनलाई फोन आयो । ‘एसपीसाबले फेरि त्यो घटना अनुसन्धान गर्र्नुभएको छ, के गर्ने ?’ तिनै व्यक्तिले फोन गरे । फेरि उनी तनावमा परे । दुई लाख दिए उक्त अनुसन्धान बन्द गर्ने प्रस्ताव सइले राखे ।
त्यो घटनाबारे अनिलले कसैलाई बताएका थिएनन् । फेरि पैसा मागेपछि उनले एक निकट साथीलाई सेयर गरे। ती साथीले त्यस्ता ठग गिरोहहरू दिल्लीमा सक्रिय रहेकाले प्रहरी नभई उनीहरू ठग भएको हुन सक्ने बताए। त्यसपछि अनिल १४ मार्च २०१६ मा मौर्य प्रहरी चौकीमा पुगेर एफआइआर दर्ता गराए । प्रहरीले अनुसन्धान अघि बढायो। अनुसन्धानको क्रममा ती सबै नक्कली प्रहरी भएको खुल्यो । सेक्स र्याकेट खडा गरेर उनीहरूले धनाढ्य व्यक्तिहरूलाई त्यही शैलीबाट ठगी गर्दै आएको रहस्यको पर्दाफास भयो।
0 comments
Write Down Your Responses