खेल समाचार

काठमाडौँ, ६ भदौ । मङ्गोलियमा जारी एएफसी कप फुटबलको प्लेअफ छनोटको आफ्नो दोस्रो खेलमा नेपालको राष्ट्रिय लिग च्याम्पियन थ्रिस्टार क्लबले मङ्गलबार कम्बोडियाको नागावल्र्ड क्लबसँग खेल्दैछ ।

मङ्गोलियाको उलानबटारस्थित मङ्गोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा थ्रीस्टार र नागावल्र्ड क्लब नेपाली समयानुसार दिउँसो २ः४५ बजे आमनेसामने हुनेछन् । थ्रिस्टारले पहिलो खेलमा आयोजक मङ्गोलियाकै एर्चिम क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

समूह बी मा रहेको थ्रिस्टारले जारी प्रतियोगितामा तीन अङ्क जोड्दै पहिलो स्थानमा छ । शीर्ष स्थानमा भएको हुनाले थ्रिस्टारको अर्को चरणमा जाने सम्भावना बलियो छ । यद्यपि विपक्षी टोलीलाई कमजोर भने मान्न नहुने थ्रीस्टारका कप्तान विक्रम लामा बताउँछन् । नागावल्र्डसँगको खेलमा पूरा शक्ति लगाएर खेलेमा राम्रो नतिजा आउनेमा कुनै शंका नरहेको कप्तान लामाको विश्वास छ ।

त्यस्तै थ्रिस्टारका मुख्य प्रशिक्षक मेघराज केसीले नागावल्र्ड नयाँ टोली भएकाले सुरुवाती १०–१५ मिनेट खेल हेरेर त्यस टोलीको कमजोरी र बलियो पक्ष थाहा पाएपछि त्यहीअनुसारको रणनीति अपनाउने बताउनुभयो । उता नागावल्र्डका प्रमुख प्रशिक्षक मियास चानाले पर्याप्त तयारी गरेर टोली मङ्गोलिया आएको बताउनुभयो ।

मङ्गलबारको खेलमा थ्रिस्टार विजयी भए स्वतः एएफसी कप फुटबलको अर्को चरणमा पुग्नेछ भने अन्य नतिजा आएमा नागावल्र्ड र एर्चिमबीचको खेलको नतिजा कुर्नुपर्नेछ । तीन समूहमा विभाजन गरिएको प्लेअफ छनोट चरणमा नौ टोलीको सहभागिता रहेको छ । तीनै समूहबाट समूह विजेता टोली अर्को चरणमा पुग्नेछ ।

कराते टोली इन्डोनेसिया प्रस्थान

बाह्रौँ एसकेआइएफ विश्व कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली सोतोकान कराते टोली आज इन्डोनेसिया प्रस्थान गरेको छ ।

अगस्ट २६ देखि २७ तारिखसम्म जकार्तामा हुने प्रतियोगितामा रुसाली श्रेष्ठले एकल कातामा नेपालका लागि खेल्नेछिन् । भेट्रान्स एकल कातामा निवासगोपाल वैद्य र ओमनारायण श्रेष्ठ तथा एकल काता÷कुमुतेमा दिनेश श्रेष्ठ र शत्रुघन महर्जनले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताअघि अगस्ट २४ र २५ मा इन्डोनेसियामै हुने सेमिनारमा निवास, ओम, दिनेश, शत्रुघन तथा डा कस्मिरा काकाडीले भाग लिने बताइएको छ । पदाधिकारीमा दीपक श्रेष्ठ, मुकुन्द श्रेष्ठ र सिर्जना श्रेष्ठ रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टले सातदोबाटोस्थित कार्यालयमा बिदाइ गर्नुभयो ।

खुला करातेमा नेपाललाई दुई रजत पदक

फिनल्यान्डको हेलसिन्कीमा भएको सेतोकाई खुला कराते च्याम्पियनसिपमा नेपालका मन्डेकाजी श्रेष्ठले रजत तथा कास्यपदक हात पारेका छन् ।

यही भदौ ४ र ५ गते सञ्चालन भएको उक्त प्रतियोगितामा श्रेष्ठले ७५ केजी तौल समूहमा आयोजक फिनल्यान्डका खेलाडीसँग फाइनलमा ७–२ ले पराजित भएपछि रजत पदक हात पारेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

उनले पहिलो चरणमा वाई पाएर सेमिफाइनल प्रवेश गर्दै अल्जेरियाका खेलाडीलाई ४–२ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए । श्रेष्ठले व्यक्तिगत कातातर्फ भने कास्य पदक प्राप्त गरेका थिए ।

त्यसैगरी नेपालका अर्का खेलाडी मुकुन्द महर्जनले पनि रजत पदक प्राप्त गरेका छन् । उनले ६७ केजी तौल समूहमा पहिलो चरणमा वाई प्राप्त गर्दै सिधै सेमिफाइनल प्रवेश गरेका थिए । सेमिफाइनलमा अल्जेरियालाई ५–२ ले पराजित गर्दै फाइनल पुगेका थिए ।

फाइनल खेलमा उनी फिनल्यान्डका खेलाडीसँग पराजित भएपछि रजत पदकमा चित्त बुझाउन बाध्य बने ।

,

0 comments

Write Down Your Responses