दीक्षा चापागाई,जसले कञ्चनलाई फोहोरको थुप्रोबाट उद्धार गरिन,उसैको मुखबाट सुनौँ वास्तविक कुरा

काठमाडौं, मंसिर । कान्तिपुर टेलिभिजनको ‘सुमन सँग’ कार्यक्रमलाई दिएको अन्तर्वार्ताले विवादमा छिन्, कञ्चन शर्मा रेग्मी । पति र छोराहरुलाई लगाएको आक्षेप र पतिको खण्डनले उनी अलोचनाको तारो बनेकी छन् । त्यसमा पनि फोहोरको थुप्रोबाट उद्दार गरियो भन्ने कपोकल्पित भनाइले उनलाई उद्दार गर्ने पवित्र समाज सेवा नेपालकी अध्यक्ष दीक्षा चापागाई पनि निशानामा परेकी छन् ।
उनलाई उद्दार गर्ने संचारकर्मी चन्दा थापाले कञ्चनलाई सफा सडकपेटीबाट उद्दार गरेको कुरा सप्रमाण प्रस्तुत गरेपछि धेरैले दीक्षामाथि ‘टिभीमा कञ्चनलाई झुटो बोल्न लगाएको’ आरोप समेत लगाइरहेका छन् ।यी सबै आरोपको दीक्षाले भने खण्डन गरेकी छन् । कञ्चनलाई तपाईंले सिकाएर अन्तवार्ता दिन पठाउनुभएको हो ? भन्ने दैनिक नेपालको प्रश्नमा दीक्षाले भनिन्– ‘पीडित महिलालाई मैले कहाँ सिकाउनु ! मैले किन सिकाउने ? केही सिकाएको छैन् । झुट्टा आरोप हो ।


एक्कासी कान्तिपुरले फोन गरेर कञ्चन शर्मालाई लिएर आउनु भनेको थियो । ल्याण्डलाइनबाट फोन गरेको थियो । म र भाई कञ्चन दिदीलाई लिएर कान्तिपुर गएका हौँ ।’ तर, सामाजिक सञ्जालमा आफूलाई समेत नानाभाँती टिप्पणी गरिएकोमा निराश लागेको उनले बताइन् ।

कञ्चनले बोलेको कुराको प्रष्टीकरण दिने काम आफ्नो नभएको उनले बताइन् । ‘कञ्चन दिदीले भनेका कुरा उनका नितान्त व्यक्तिगत हुन् । मानवीय कर्तव्य सम्झेर मैले सहयोग गरेको हुँ । जो बेवारिसे हुन्छ, त्यसको सेवा गर्ने मेरो कर्तव्य नै हो । र, गरिहन्छु । मोहन रेग्मी (कञ्चनका श्रीमान) पनि सडकमा भेटिएका भए त्यसैगरी उद्दार गर्थें ।’

साउनमा आफ्नो आश्रममा आएपछि कञ्चन तीन पटक आश्रम छाडेर गएको बताउँदै दीक्षाले भनिन्– ‘मानसिक समस्या छ कि भनेर पाटन हस्पिटल लगेँ । खासै समस्या नदेखिएपछि केही दिन औषधि खाइन् । त्यसपछि सुधार आयो । आफै नुवाईधुवाई गर्न थालिन् । दुःखसुखका कुरा गर्न थालिन । त्यही सिलसिलामा कान्तिपुरले कार्यक्रममा बोलाएको हो ।’

कञ्चनले झुटो बोलेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको प्रसंगमा आफूलाई केही पनि थाहा नभएको दीक्षाले प्रतिक्रिया दिइन् । ‘कञ्चन दिदीको अबस्था अहिले ठीकै छ । उनलाई गाली दिएको थाहा छैन् । कञ्चन दिदीलाई उनको परिवारले माफ गरिदिनुपर्छ । श्रीमान–श्रीमतीको कुरालाई लिएर आरोप प्रत्यारोप गर्नुभन्दा पनि उनलाई गासबास कपासको व्यवस्था गरिदिनुपर्छ ।’

आफूले अझै धेरै ‘कञ्चनहरु’को उद्दार गर्न बाँकी रहेको भन्दै दीक्षाले आफूलाई अनावश्यक नमुछ्न आग्रह गरिन् । आफ्नो आश्रममा कन्चन जस्ता अन्य बेसहारा महिला तथा बालबालिकाहरु रहेको उनले बताइन् ।- दैनिकखबर बाट

,

0 comments

Write Down Your Responses