इमाडोलमा निकालियो ग्यास, अब व्यावसायिक उत्पादन गरिने

वर्षौँको प्रयासपछि काठमाडौं उपत्यकाको जमिनमुनिबाट ग्यास निकालिएको छ । ललितपुरको इमाडोलमा खानी तथा भूगर्भ विभागका प्राविधिकले ड्रिलिङ गरी ग्यास निकालेका हुन् । विभागले निकालेको ग्यास शुक्रबार उद्योगमन्त्री नवीन्द्रराज जोशीले बालेर देखाएका छन् ।
मन्त्री जोशीले चुलोमा ग्यास बालेर उपत्यकामा खाना पकाउन मिल्ने ग्यासको व्यावसायिक उत्पादन र वितरणको सम्भावना रहेको पुष्टि गरेका छन् । उनले ग्यास बाल्दै स्वदेशमै रहेको खानी उत्खनन गर्न सफल भएको प्रतिक्रिया दिए । ‘हामीले जमिनमुनिको ग्यास बालेर सफल परीक्षण गरेका छौँ,’ उनले भने ।
विभागका महानिर्देशक राजेन्द्रप्रसाद खनालले परीक्षण उत्पादनमा सफल भएको र व्यावसायिक उत्पादनको सम्भाव्यता थालिने जानकारी दिए । ‘शुक्रबार परीक्षण उत्पादन मात्रै भएको हो, अब व्यावसायिक उत्पादनको सम्भावना खोजी हुन्छ,’ उनले भने । खनालले प्राकृतिक ग्यासको उत्खनन गर्न विभाग क्रियाशील भएर लाग्ने पनि बताए ।
यत्तिकै बाल्नु खतरनाक
विभागका प्रवक्ता कृष्णदेव झाले शुक्रबार निस्केको मिथेन ग्यास बाल्नु सुरक्षाका दृष्टिको उपयुक्त नभएको जानकारी दिए । ‘शुक्रबार निस्केको ग्यास गन्हाउँदैन,’ उनले भने, ‘नगन्हाउने ग्यास प्रयोग गर्दा लिकेज भएको थाहा हुँदैन ।’ उनले हाल ग्यास जम्मा गर्न बनाइएको कम्प्रेस चेम्बरमा गन्ध आउने पदार्थ मिसाएर प्रयोग गर्न सकिने बताए । ‘ग्यासमा गन्ध आउने पदार्थ मिसाउन सकिन्छ, त्यस्तो पदार्थ हाल उत्पादन भएको ग्यासमा मिसाउने हो भने प्रयोग गर्न सकिन्छ,’ उनले भने ।
एक वर्षभित्र व्यावसायिक उत्पादनको खोजी
विभागले एक वर्षभित्र इमाडोलबाट व्यावसायिक उत्पादन गर्न सकिने वा नसकिनेबारे निर्णय गर्ने जनाएको छ । सोही स्थानको वरपर ड्रिलिङ गरी कति ग्यास उत्पादन गर्न सकिन्छ भन्नेबारे अध्ययन गरिने प्रवक्ता झाले बताए । ‘इमाडोल क्षेत्रबाट कति ग्यास निकाल्न सकिन्छ भन्ने यकिन छैन,’ उनले भने, ‘त्यहाँ आसपास अर्को ठाउँमा पनि ड्रिलिङ गर्ने र अहिले गरेको ड्रिलिङबाटै कति तान्न सकिन्छ भन्ने हेरेर मात्रै व्यावसायिक उत्पादन हुने–नहुने थाहा हुन्छ ।’
ग्यासभन्दा पानी धेरै
विभागले इमाडोलमा आर्थिक वर्ष ०७१-७२ मा ड्रिलिङ गरी छाडेको थियो । त्यतिखेर चार भागको एक भाग ग्यास र बाँकी पानी हुने अध्ययनले देखाएको थियो । तर, दुई वर्षपछि उत्खनन गर्दा १५ भागको एक भाग मात्रै ग्यास आएको मन्त्री जोशीले जानकारी दिए । ‘यहाँ अहिले १५ भागको एक भाग ग्यास र बाँकी पानी देखिएको छ,’ उनले भने, ‘ग्यासको मात्रा अलि कम देखिएको छ ।’
उनले त्यस क्षेत्रमा फेरि ड्रिलिङ गरी ग्यास र पानीको अनुपातबारे यकिन गर्ने बताए । विभागका प्रवक्ता झा पहिलेको भन्दा अहिले ग्यासको मात्रा घटेको बताउँछन् । ‘पहिले गरिएको अध्ययनको तुलनामा अहिले जमिनमुनि ग्यासको मात्रा घटेको देखिन्छ,’ उनले भने, ‘पहिले जमिनको सतहमै ग्यास आउँथ्यो, अहिले मोटर लगाएर तान्दा पनि धेरै कम ग्यास पाइरहेको छ ।’ जमिनमुनि ग्यासको मात्रा घट्दै जाँदा व्यावसायिक उत्पादन गर्न लागत महँगो पर्ने उनको भनाइ छ ।
२६ वर्गकिलोमिटरमा ग्यास
जापानी सहयोग निकाय जाइकाले सन् १९७८ मा अध्ययन गरी इमाडोलमा ग्यास रहेको पत्ता लगाएको मन्त्री जोशीले जानकारी दिए । त्यसयता ग्यास उत्खननका लागि बारम्बार प्रयास भए पनि शुक्रबार पहिलोपटक सफलता मिलेको हो । उपत्यकाको इमाडोलसहित शंखमूल, टेकु, एकान्तकुना, तिनकुने, भृकुटीमण्डपलगायत २६ किलोमिटर क्षेत्रमा प्राकृतिक ग्यासको उत्खनन गर्न सकिने अध्ययन भएको विभागका प्रवक्ता झाको भनाइ छ । जाइकाको अध्ययनले ३१ करोड ६० लाख क्युबिक मिटर मिथेन ग्यास रहेको देखाएको थियो ।
ग्यास रहेको पत्ता लाएर निजी क्षेत्रलाई उत्खनन गर्न आह्वान गर्दा कोही तयार नभएको पनि उनले बताए । ‘उपत्यकाभित्र ग्यास रहेको पत्ता लगाएर निजी क्षेत्रलाई उत्खनन गर्न बारम्बर आह्वान गरेका छौँ, तर कसैले तत्परता देखाएका छैनन्,’ उनले भने ।
यसरी निकालियो ग्यास
जमिनमुनि तीन सय ५० मिटरसम्म ड्रिलिङ गरेर पाइप छिराइएको छ । र, एक सय ८० मिटरदेखि तलपट्टि पाइपको भागमा फिल्टर राखिएको छ । त्यस फिल्टरले पानी र ग्यासलाई मात्रै माथि पठाउँछ ।
जमिनमुनि रहेको पाइपको डेढ सय मिटरमाथिका विभिन्न ठाउँमा इनोभेन्स पम्प जडान गरिएको छ । उक्त पम्पले पानी र ग्यासलाई माथि धकेल्छ (जमिनमुनिबाट पानी निकालेको जस्तै गरी) ।
जमिनको सहतमा पाइपलाई जोडेर एउटा मिटर जडान गरिएको छ । त्यसले कति प्रेसरमा पानी र ग्यास आइरहेको छ भन्ने देखाउँछ । जमिनमुनिबाट पाइपका माध्यमबाट पानी तान्न चार हर्सपावरको मोटर जडान गरिएको छ ।
ग्यास हल्का र पानी गह्रौँ हुन्छ । त्यसैले पाइपको माथिल्लो भागमा ग्यास र मुनि पानी बसेको हुन्छ । सो मिश्रण जम्मा गर्न सेप्रेसन ट्यांकी राखिएको छ । पाइपबाट सेप्रेसन ट्यांकीमा ग्यास र पानी आएर जम्मा हुन्छ ।
सेप्रेसन ट्यांकीको माथिल्लो भागमा ग्यास रहन्छ र मुनि रहेको पानी ट्यांकीको एउटा कुनाबाट बाहिर जाने गरी बनाइएको छ ।
पुल्चोक इन्जिनियरिङ क्याम्पस र खानी तथा भूगर्भ विभागका इन्जिनियर मिलेर ग्यास स्टोर गर्न मिल्ने कम्प्रेस च्याम्बर (ट्यांकी) बनाएका छन् । उक्त च्याम्बरमा सेप्रेसन ट्यांकीबाट ग्यास मात्रै तानेर जम्मा गरिन्छ ।
कम्प्रेस चेम्बरमा एउटा मुख्य भल्ब छ, त्यहीँबाट पाइपका माध्यमबाट ग्यास चुलोसम्म वितरण गर्न मिल्छ । तीनवटा चुलोमा ग्यास पु-याउन मिल्ने च्याम्बर छ ।
सोचेभन्दा कम ग्यास निस्कियो
नवीन्द्रराज जोशी
उद्योगमन्त्री
हामीले मूलतः यहाँ ग्यास र पानीको प्रतिशत कति छ भन्ने कुराको परीक्षण ग-यौँ । यहाँ चार भागमा एक भाग ग्यास छ भन्ने अनुमान थियो, तर १५ भागमा एक भाग ग्यास रहेको पाइयो । यही नै अन्तिम भन्ने होइन । अरू परीक्षण गर्छौँ । र, त्यो क्षेत्रको सम्भाव्यता अध्ययन गर्छौँ । अन्यत्रको पानी र ग्यासको अनुपात निकालेपछि फिजिबल कति हुन्छ भन्ने कुराको टुंगो लाग्छ । – अजित अधिकारी/नयाँ पत्रिका

,

0 comments

Write Down Your Responses