काठमाडौं / ‘मलाई प्रष्ट पार्न दिनुहोस् की कोही पनि कानुनभन्दा माथि छैन । न राजनीतिज्ञ, न पुजारी, न अपराधी न त प्रहरी नै । हामी सवै हाम्रा कर्मअनुसार हर्जाना तिर्न तयार हुनुपर्छ ।’ एक कानुनका रक्षकले मात्र यस्तो सोच राख्न सक्छ । कानुनको खिल्ली उडाउने देशमा इमान्दार भएर काम गर्नु कम चुनौती होइन । त्यहाँमाथि नेपाल त्यसमाथि पनि नेपाल प्रहरी । अनि, इमान्दारीता पनि । वेथिति हर क्षेत्रमा छ ।
थिति कसरी बसाल्ने ? यहाँ थितिका लागि मिति तोकिन्छ । तर, मिति तोक्न हुन्न भन्ने विचार उनमा छ । फौजी संगठन भन्ने वित्तिकै पूरुषहरुको बोेलबोला नै छ । प्रहरी संगठनमा धेरै पुरुषहरु र हातका औँलाले गन्न सक्ने महिला प्रहरी अधिकृत छन् । तर, निष्पक्ष काम, न्यायका लागि वकालत गर्ने काममा महिला दरिलो उदाहरण हुन् । पछिल्लो समय केही महिला प्रहरी अधिकृतको क्षमताले प्रहरी संगठन झन बलियो बन्दै गएको छ । जसले प्रहरीको ओज भारी बनाएको छ । वर्दीको बोलबाला सत्कर्ममा जुटेको छ । यस्तै, सत्कर्मकी उदाहरण हुन्, प्रहरी निरीक्षक (इन्स्पेक्टर) पूर्णिमा चन्द ।
क्लसमेट केटाहरू नेपाल प्रहरीमा जागिर खान जाँदा ओइ डन्ठे भनेर जिस्काउने पूर्णीमालाई लागेको थिएन उनी पनि प्रहरीमै आउनुपर्छ भन्ने । सरकारी जागिरमा भविष्य राम्रो देखेर प्रहरी सेवामा प्रवेश गरेकी पूर्णीमा काकाबाट प्रभावित छन् । त्यसैले उनले प्रहरीमा सेवा गर्ने ठान्दा घरमा बहुमत समर्थन पाइन् । श्रीमान्, सासु, ससुरा उनीप्रति सकारात्मक बनेकैले उनी प्रहरी अधिकारी भइन् । बिहे पश्चात मात्र उनले नेपाल प्रहरीको जागिर सुरु गरेकी हुन् । बैतडीमा जन्मेकी पूर्णीमाले बझाङमा विहे गरिन् । नेपाल प्रहरीमा पहिलो पटक नाम निकाल्न सफल भएकी पूर्णीमाले राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा तालिममा कष्टको अनुभव गरिन् । ‘कहिलेकाहीँ लाग्थ्यो यस्तो कष्टकर तालिम पर्ने भए त प्रहरी के हुनु ? तर, सरकारी जागिर र समाज सुरक्षाको विषयले ति सवै कष्ट हराउँथ्यो ।’
उनले जीवनमा शिक्षिकाको भुमिका पनि निर्वाह गरिन् । स्कुलमा विज्ञान विषयको अध्यापन गराउने गर्थिन्, उनी । स्नाकोत्तरको शोधकार्य (थेसिस) गर्दागर्दे एक वर्ष बैँक अफ एशियामा काम गरेकी थिइन् । तालिम सके पश्चात पहिलोपल्ट दिपायल क्षेत्रीय प्रहरी कार्यालयबाट कामको सुरुवात गरेकी पूर्णीमाले दोस्रोपटक जिल्ला प्रहरी कार्यालय डोटीमा सेवा गरिन् । चार महिना मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर, महिला बालबालिका सेवा निर्देशनालय नक्साल, महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटी हुँदै इन्सपेक्टर चन्द अहिले महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको कमाण्डमा छिन् ।
जागिर खाएको ६ बर्षमा तालिमपछि ६ स्थानको विभिन्न शाखामा रहेर काम गरेको अनुभब चन्दसँग छ । नयाँ वसपार्क उपत्यकाको सुरक्षाको हिसाबले संवेदनशिल स्थानको रुपमा चिनिन्छ । बसपार्क क्षेत्रमा चोरी, पाकेटमार, आत्माहत्या, ठगी, लुटपाटका साथै बेस्यावृत्ति व्याप्त छ । यहि चुनौतिको सामना गरिरहेकी पूर्णिमा थप्छिन्,‘यी सवै सामाजिक विकृति न्युनिकरणमा मेरो प्रयास र कर्तव्य जारी रहनेछ ।’ प्रहरी बन्नु सरल छैन, अझ बनेपछि कर्तव्य पालना गर्नु कठिन छ । तर, सवैको सुखमा उनी आफ्नो कामको सुख देख्छिन् । भन्छिन्,‘अरुले सुरक्षित महसुस गर्दा, म सन्तुष्ट हुन्छु । म जनताको सेवामा लाग्न सफल भएकी छु भन्ने ठान्छु ।’
अरुको मातहतमा काम गर्दा दोस्रो दर्जाको रुपमा काम गर्दा दिएको जिम्मेवारी पुरा वा कुनै शाखाको जिम्मेवारी निर्वाह गर्न पाइन्थ्यो तर अहिले आफैँ नेतृत्व लिँदा केही अप्ठ्यारो महसुस गरेकी उनी भन्छिन्, ‘कतिपय घटनाको डाइरेक्ट आफुले निर्णय लिनुपर्ने हुन्छ त्यस्तो बेलामा केही गाह्रो महसुस हुन्छ ।’ प्रहरी सेवालाई रोजगारी भन्दा सेवाको रुपमा प्रयोग गर्नुपर्ने धारणा राख्ने पूर्णीमा कुनै पनि काम सजिलो नभएको बताउँछिन् । उनको सुझाव छ– कामलाई कसैको व्यक्तित्वका आधारमा होइन, उसको क्षमताको आधारमा विभाजन गर्नुपर्छ । जन प्रहार साप्ताहिकले पूर्णिमाका बारेमा समाचार छापेको छ ।
0 comments
Write Down Your Responses