डीआईजीको घरमा मिनी क्यासिनो, पूर्वआईजीपीदेखि गुण्डा नाइके ग्राहक

शासन संवाददाता, काठमाडौं ।  नेपाल प्रहरीको डीआईजी जस्तो उच्च ओहोदामा आसीन व्यक्तिले आफ्नै निजी निवासमा व्यावसायिक रुपमा जुवा अड्डा सञ्चालन गर्छन् भन्ने सुन्दा झट्ट कसैलाई पनि पत्याउन गाह्रो हुन्छ । तर नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्यालको कार्यकाल ६ महिना बाँकी रहँदै आफूलाई नेपाल प्रहरीको भावी आईजीपी घोषणा गर्दै हिँड्ने गरेका विवादास्पद डीआईजी जयबहादुर चन्दले काठमाडौंको बूढानिलकण्ठ हात्तीगौंडास्थित आफ्नै निजी निवासमा हरेक शनिबार व्यावसायिक रुपमा करोडौँको जुवा खेलाएर सेवाशुल्क उठाउने गरेको रहस्य सार्वजनिक भएको छ ।



काठमाडौको बुढानिलकन्ठ, हात्तीगौडामा अवस्थित डीआइजी चन्दको आलिशान महल । तस्विर : सुशासन

विश्वस्त स्रोतका अनुसार चन्दको घरमा जुवा खेल्न नेपाल प्रहरीका पूर्वआईजीपीदेखि गुण्डाका नाइके समेत पुग्ने गर्दछन् । हरेक शनिबार नियमित र सार्वजनिक विदाको दिन कहिलेकाहीँ सञ्चालन हुने सो जुवा खालमा नारायणस्थानका केही स्थानीय, न्युरोडमा व्यवसाय गरिरहेका मारवाडी समुदायका केही व्यापारीहरु, कमलपोखरीका ब्यापारी पवन सरिया, नेपाल प्रहरीका पूर्वआईजीपी एवम् नेकपा माओवादी केन्द्रका सांसद् रवीन्द्रप्रताप शाह र पूर्वएआईजी किरणकुमार गौतम, नेपाल प्रहरीका पुर्व डीआइजी भरत जिसी लगायतका व्यक्तिहरु चन्दले सञ्चालन गरेको उक्त अड्डामा पुग्ने गरेका छन् । त्यस्तै दरबारमार्गस्थित विवादास्पद रात्रि क्लब भिक्ट्रीका सञ्चालक तथा गुण्डा नाइके राम गिरी, मिटरब्याजमा क्यासिनोमा लगानी गरेर क्यासिनो किङ्गका उपमा पाएका बलराम सापकोटा उर्फ ‘बले’ समेत कहिलेकाँही त्यहाँ पुग्ने गरेको स्रोत बताउँछ ।

दिनमा करोडौँको हारजित हुने उक्त अड्डामा हरेक हप्ता खसी काटेर भोज लगाउने गरिएको बताइन्छ । खसी नभएको बेलामा लाजिम्पाटस्थित होटेल रयाडिसनबाट प्याकिंग खाना मगाउने गरेको स्रोतको दावी छ । ‘अन्य ठाउँमा खेल्न जाँदा प्रहरीले समाउने र दुःख दिने डर हुन्छ, प्रहरीकै डीआईजी साबकोमा जाँदा न प्रहरीले समाउने डर न त इज्जत जाने डर’, उक्त अड्डामा गइरहने एक व्यापारीले पहिचान नखोल्ने शर्तमा भने । ती व्यापारीका अनुसार डीआईजी चन्दले हरेक हप्ता डेढदेखि दुई लाख रुपैयाँसम्म सेवाशुल्क समेत उठाउने गरेका छन् । प्राय म्यारिज खेल हुने सो अड्डामा ५० रुपैया प्वाइन्टको दरमा जुवा खेलाइने स्रोतको दावी छ भन्दै आजको सुशासन न्युज साप्ताहिकले समाचार लेखेको छ ।

,

0 comments

Write Down Your Responses